विवरण

click this link Website
toda

तोदा
उमा सुवेदी

मूल्यः US$7.45


अत्यासको यो बेलामा मैले यसरी अचानक सम्झिएकी थिएँ इभालाई, र इभासित जोडिएका सुकिला प्रसङ्गहरुलाई । अनि अचानक मभित्र गुमिसकेको आत्मविश्वास फेरि जागृत भएर आएको थियो । तर आतङ्कले कालोनिलो भएका बेन्जामिन भने मेरो कुराले झन् अलमल्ल परेका थिए । मैले बेन्जामिनलाई आश्वस्त पार्दै फेरि भनेँ–
‘नडराऊ बेन्जामिन । हामीलाई इभाले बचाउनेछिन् ।’


त्यसपछि म छोरी सिर्लीलाई आनै छातीमा टाँसेर घरको पश्चिमतिरको ढोकामा पुगेकी थिएँ । त्यो ढोका मूल सडकतिर नखुलेर घरको पछाडितिर खुल्ने भएकाले केही सुरक्षित पनि थियो । म ढोका खोलेर निस्किएँ ।


म हस्याङफस्याङ गर्दै एक मिनेटमै इभाको घरमा पुगेँ । इभा आफ्नो बेडरूमसित गाँसिएको डार्करूममा अस्तिमात्र खिचेका हिटलरका तस्विर र नेगेटिभहरुलाई भर्खर डेभलपर र फिक्सरबाट झिकेर सुकाइरहेकी थिइन् । उनले डार्करूमको ढोकामा लागेको रातो सिसाभित्रबाट मलाई देखिन् । मलाई देखेर उनी खुसी भइन् । तुरून्तै डार्करूमबाट बाहिर आइन् । सधैँझँ यति बेला पनि उनको अनुहारमा निश्छल मुस्कान थियो । उनले उत्साहसाथ मेरो हात समातिन् र मलाई पनि डार्करुमभित्रै डोर्‍याउँदै लगिन् । मैले त्यति बेला महसुस गरेँ इभाको हात कति तातो थियो । इभाले सोधिन् पनि मसित–
‘तिम्रो हात किन बरफभन्दा पनि चिसो भएको ?’


मैले कुनै उत्तर दिन सकिनँ इभालाई । यद्यपि म भन्न चाहन्थेँ–
‘सिस्टर इभा, हातमात्रै होइन, यतिखेर त मेरो मुटु पनि बरफझैँ चिसो भएको छ । मेरा आवाजहरु चिसोले ओसिन थालेका छन् । मेरा आँखाबाट दृश्यहरु पग्लिन थालेका छन् ।’


डार्करूमको मधुरो र रातो प्रकाशमा इभा अति सुन्दर देखिएकी थिइन् । उनका अनुहारमा यतिखेर पनि हिटलरप्रतिको अगाध प्रेम प्रकट भैरहेको थियो । सेतो टे«मा राखिएको डेभलपरको पानीजस्तो झोलमा उनले एउटा सेतो कागज राखिन् । एकै छिनमा कागजमा हिटलरको छायाचित्र उभरिएर आयो । उनले त्यो तस्विरलाई फेरि अर्को ट्रेमा राखिन् । त्यसमा
फिक्सरको झोल थियो । हिटलरको ताजा तस्विरलाई फिक्सरमा डुबाएपछि तस्विर गाढा भयो । अब तस्विर कहिल्यै पनि मेटिँदैन । फिक्सरमा तैरिरहेको हिटलरको तस्विरलाई देखाउँदै इभाले मसित भनिन्–
‘मेरी प्यारी यहुदी बहिनी । यो तस्विरमा हेर त । मेरो हिटलर कति सुन्दर देखिएको छ ।’


तर यतिखेर म केही बोल्न सक्ने स्थितिमै थिइनँ । मैले इभाको प्रश्नको जवाफ दिनै सकिनँ । बरु मेरा आँखाबाट आँसु बग्न थाल्यो । मैले रूँदै भनेँ–
‘सिस्टर इभा, हिटलर र उसको नाजी सेना हाम्रो टोलमा पनि आइपुगेको छ आज । उनीहरु घर घर पसेर यहुदीहरुको हत्या गर्दै छन् । घर घरबाट यतिबेला चित्कार र रुवावासीको आवाज आइरहेको छ । के तिमीले यो आवाज सुनिरहेकी छैनौ ?’


इभाले अरु तस्विरलाई पनि फिक्सरबाट झिकिन् । भित्तामा पातलो प्लास्टिकको डोरी तानिएको थियो । हिटलरका तस्विरहरुलाई एउटा मसिनो क्लिपको सहायताले उनले त्यही प्लास्टिकको डोरीमा पालैपालो झुन्ड्याइन् । त्यसमुनि एउटा इलेक्ट्रिक हिटर थियो । हिटलरको तस्विर त्यही हिटरको तातोमा सुक्न थाल्यो । इभाले त्यसपछि मतिर फर्किएर मुस्कुराउँदै भनिन्–
‘मेरी यहुदी बहिनी, यतिखेर त मेरा कानमा हिटलरका मधुर प्रेममय वाणीमात्र प्रतिध्वनित भैरहेका छन् । म त उसको आवाजबाहेक केही सुनिरहेकी छैन ।’


‘त्यसो भए अब यहुदीहरु रोएको आवाज पनि सुन सिस्टर इभा । उनीहरु मर्दै छन् । बचाऊ उनीहरुलाई । मलाई पनि बचाऊ । मेरा श्रीमान् बेन्जामिन यतिखेर घरमा एक्लै छन् । डरले थरथर काँप्तै छन् उनी । उनलाई तिमीले मात्र बचाउन सक्छ्यौ । मेरो छातीमा यति बेला लुपुक्क टाँसिएकी मेरी यो प्यारी छोरीलाई पनि तिमीले मात्र बचाउन सक्छ्यौ । तिमी हामी सबैलाई बचाउन सक्छ्यौ । लौ न, केही गर सिस्टर इभा ।’


मैले यति भन्दा मेरो आवाज प्रचण्ड हुरीमा हल्लिरहेको युक्लिप्टसको कमजोर रुखझैँ काँपिरहेको थियो । मैले मेरै आवाज पनि सुनिरहेकी थिइनँ । कतैबाट कसैले हारगुहार गरिरहेझैँ मसिनो मसिनो प्रतिध्वनित भैरहेको थियो मेरो आवाज त्यतिखेर ।
इभा त्यतिखेर पनि हिटलरकै तिनै ताजा तस्विरतिर एकनासले हेरिरहेकी थिइन् । मानौँ एकै छिनमा त्यो तस्विरबाट निस्किएर हिटलर उनका अगाडि थपक्क उभिनेछ र उनका गालामा मायाले चुम्बन गर्नेछ ।
(यसै उपन्यासबाट)