विवरण

click this link Website
pandulipi

तस्बिर
कपिल अञ्जान

मूल्यः US$ 2.95

 

मोतीराम सेतुराम गजल पुरस्कार २०७० बाट पुरस्कृत कृति

 

सोच्दैछु सूर्य अस्ताउन भोलि फेरि आउँछ 
कोही त बुद्ध जन्माउन भोलि फेरि आउँछ

कोलम्बसले सुकुम्बासी बसाएर गएको छ
सरकार बस्ती उठाउन भोलि फेरि आउँछ

हजारको नाममा यहाँ धेरैको छानो जल्यो
बालक तमसुक जलाउन भोलि फेरि आउँछ

बेरोजगार भएर नै बसिरहेछन् युवाहरु
प्रहरी अपराधी बनाउन भोलि फेरि आउँछ

बगरमा बसेर माझी सपना देखिरहेछ
नदीले सपना बगाउन भोलि फेरि आउँछ

जबसम्म तिम्रो विचारमा परिवर्तन हुँदैन
अञ्जान गजल सुनाउन भोलि फेरि आउँछ


-----------------------------------------


कि आँखामा गाजल लगाउनु हुदैँन
कि तिमीले चेहरा लुकाउनु हुँदैन

फूल चुडेर कस्तो परीक्षा लिदैँछौ
दिएर भन्छौ यो ओइलाउनु हुँदैन

नागरिकता खोसेर देश निकाला गर्ला
अब यो सरकारलार्इ जिस्काउनु हुँदैन 

एउटा गरिब मान्छे घर बनाइरहेछ
निदाउन देउ उसलार्इ उठाउनु हुँदैन 

यो तस्बिर जलाउनेहरुको सहर हो
यहाँ आएर तस्बिर बनाउनु हुँदैन

भर्खर सजायबाट मुक्त भएको छ
अञ्जानलार्इ गजल सुनाउनु हुँदैन ।