विवरण

click this link Website
pandulipi

सिर्जना र सन्त्रास
शर्मिला खड्का (दाहाल)

मूल्यः US$1.95


‘मम्मी मलाई सारै डर लागिरहेछ, आज तपाईंसँगै सुत्छु है !’ मेरी चौध वर्षकी छोरीले भनेकी थिई ।

मैले भनेको थिए“, ‘केको डर छोरी ?’ 

उसले पुनः भनेकी थिई, ‘हिजो पल्लोपट्टि एउटा मान्छे हातमा बम पड्केर कस्तो गरी मरेको देख्नु भएन ? त्यसैले अनि त्यसको हातखुट्टा कसरी छरिएको, अनि डर लाग्दैन त ?’

त्यसो त हिजो नै मेरो टाउको माथिबाट एउटा सिपाहीको हातको बन्दुकबाट अचानक छुटेको गोली सर्सराउँदै गएको थियो । म पनि त्यही मान्छेजस्तै क्षतविक्षत भएर भित्ताभरि मासुका टुक्रा छरिएर मर्न सक्थेँ । मैले परिवेशको जानकारी दिई भनेको थिएँ, ‘हेर छोरी, अब हामी डराएर हुँदैन । हामीले यस्ता बम, गोली त साधारण मान्नुपर्दछ । बिमारी हुँदा खाइने गोली अब बिमारी नहुँदा पनि खानुपर्छ ।’

मैले छोरीलाई त सम्झाएँ, तर आफूलाई कसरी सम्झाउने ? मान्छेले मृत्युलाई स्वीकारिसकेपछि डर भन्ने शब्द नै रहँदैन, तर मृत्यु आउनुभन्दा अगाडि जुन डर र त्रास हुन्छ त्यो मृत्युभन्दा खतरनाक हुन्छ । म पनि छोरीको उमेरमा विशेषगरी राति असाध्यै डराउँथेँ । सपनामा मान्छे मरेको, मरेको मान्छे बोलेको, सिनो भएको आदि देखेर । अझ हाम्रो समयमा अहिलेको जस्तो त्रासदीपूर्ण वातावरण थिएन ।

मेरो टोल खसी, बोका र कुखुरा काट्ने टोल भनेर चिनिन्छ । आजसम्म मैले खसी, बोकाको मासु भित्ताभरि टाँसिएको कहिले देखेकी छैनँ । उनीहरू खसी, बोका र कुखुराका खुट्टा, आन्द्राभुँडीसमेत राम्रो मूल्यमा बेच्छन् । तर आज एउटा मान्छे भित्ताभरि मासुको टुक्रा छरिएर मर्‍यो । खोइ मानवता ? खोइ अस्मिता ? अनि खोइ सभ्यता ? आज मान्छेले मान्छेलाई किनिरहेछ बिनामूल्य, अनि मान्छेले मान्छेलाई बेचिरहेछ बिनामूल्य । 

आजको समय यस्तो छ, भोलि के हुन्छ ? मान्छेले सबै प्राणीमाथि विजय पायो । ऊ सर्वश्रेष्ठ प्राणी कहलियो, तर आफू आफैँमाथि कसरी पराजित भयो ? ऊ अन्य प्राणीभन्दा तल्लोस्तरमा कसरी पुग्यो ? बम र गोलीमा साँटिएको हाम्रो विवेक, ज्ञान, सभ्यता हामी किन खोज्दैनौँ ? वैज्ञानिकहरूले जीवनलाई विकासको चरमचुलीमा पुर्यामइदिए भने हामीभित्रको सानो तुसलाई किन पत्ता लगाउन सक्दैनौँ ? जीवन भनेको मृत्यु नै हो भने सबैजना मृत्युलाई किन अँगाल्दैनौँ ? किन बाँच्नका लागि रातदिन सङ्घर्ष गर्छौं ?