विवरण

click this link Website
barbarik

शान्ता
पुरूषोत्तम दाहाल

मूल्यः US$7.45

 

शान्ताको होस क्रमशः ठीक हुँदै आयो । होसमा आउन लागेपछि उनी डाँको छाडेर रून लागिन् 'म अब कुनै परीक्षामा बस्न सक्दिनँ । मलाई घर लैजानुहोस् । मेरी सानी छोरी र ठूलो छोरा मलाई हरेक दिन पर्खिरहेछन् । उनीहरु मेरो बाटो हेर्दै रूँदै छन् । भोक र थकाइले कुर्लुक्क परेकी साने र कलेजबाट भोकले कलेटी परेर फर्किएका अनु, मेरा छोराछोरी घरको बार्दलीमा बसेर हामीलाई बोलाइरहेका छन् । म, यहाँ किन यस्तो कष्ट गरुँ ? केका लागि म यस्तो यातना भोग्दै छु ? भयो, म घर फर्किन्छु ।'

शान्ता मनभित्र निकै दिनदेखि गुम्सिएको मनको गाँठो फुकाउँदै– महासमुद्रको तीव्र वेगमा आएको ज्वारभाटाजस्तै आवेगमा भन्दै थिइन् । परीक्षणको अन्तिम घडीमा उभिएको अवस्था छ । शान्ता अशान्त भइन् र भित्रैदेखि उनको रोदन फुटिरहेछ । उपस्थित नर्स र डाक्टरसमेत शान्ताको यस करूणापूर्ण क्रन्दनबाट विह्वल देखिन्थे । नर्स त धुरुधुरु रून लागिन् । डक्टरहरु
पनि किंकत्र्तव्य लाग्थे । यद्यपि तिनीहरु शान्ताका शब्दसँग परिचित थिएनन् । तर उनको हाउभाउ र रोदनले आहत हुँदै थिए । उत्तमदासँग सम्बोधित हुँदै डाक्टर अश्विनीले भने– आज एमआरआई भएन भने, 'ट्रान्सप्लान्ट' असम्भव हुन्छ । तर, उहाँ एमआरआईमा सफल हुनै पर्छ । अन्यथा, उहाँ 'डोनर' हुन सक्नुहुन्न । यस अवस्थामा अस्पतालले कुनै पनि घातक 'रिस्क' लिँदैन ।'

बाहिर कम्प्युटरमा बसेका डाक्टरले पनि–डाक्टरप्रसाद र छविकुमारलाई यही जानकारी दिएछन् । डाक्टरप्रसाद र छविकुमार दुवैका नौ नाडी गले । उनीहरु दुवै जना 'हतप्रभ' कुर्सीमा थचक्क बसे । दुवैजना बोल्न सकिरहेका थिएनन् । शान्ता यो परीक्षणमा असफल हुनुको सिधा परिणाम थियो– डाक्टरप्रसादको भौतिक अवसान । एक हप्ताभित्र 'ट्रान्सप्लान्ट' नभए– डाक्टरप्रसादको 'क्यान्सर' ले कलेजाको सीमापार गरी शरीरका अरु भागमा फैलने निश्चित छ । कलेजाबाट क्यान्सर फैलनु भनेको मृत्युवरण नै हो । डाक्टरप्रसाद आफ्नै सामुन्ने आउन लागेको मृत्युको भयानक तस्बिर अनुभव गर्न लागे । छविकुमार– डाक्टरप्रसादको मनोदशासँगै आजसम्मका प्रयासहरुको विफलता र आसन्न हृदयविदारक परिघटनाप्रति व्याकुल हुँदै थिए ।

उत्तमदा शान्ताको विवशता, चरम पीडा र मानसिक तनावको सामूहिक यातना अनभु व गर्दै थियो । एक मनले भनिरहेथ्यो– 'ठीकै हुँदै छ । कम्तीमा शान्ताले आफ्नो पटे चिर्नु त नपर्ने भयो ।' हठात् उत्पन्न यो साचे बिजलुी भएर आयो र बिलायो पनि । उसको अर्को मनले तत्काल सोच्यो 'शिखरको अन्तिम चुचुरामा पुगेर हार मान्नु जति कायरता हुन सक्छ त्यति नै असफलता । शान्ताको पूर्वअठोट पुरा गर्न उनलार्इ उत्साहित गर्नुपर्छ । डाक्टरप्रसादको अनिष्ट सोच्नु  यतिबेला जति कायरता हुन्छ त्यति नै विवेकविहीनता र पशुताको प्रतिछाया हुनेछ ।

शान्तालाई काँधको भर दिँदै उत्तमदाले त्यस कालगह्वरबाट बाहिर ल्यायो । डाक्टरप्रसाद र छविकुमार स्तब्ध, किंकर्तव्यविमूढ र निराश प्रतीक्षारत भेटिए । निराश ध्वनिमा डाक्टरप्रसादले सान्त्वनाका शब्दहरु व्यक्त गर्दै भने– 'भान्जी जे हुन्छ ठीकै हुन्छ । अब हामी भोलि नै काठमाडौँ फर्कनुपर्छ । तिम्रो सबै परीक्षण सकियो । राम्रो परिणाम आएको छ । मेरो बारे चिन्ता नलिनू । तत्काल कोही 'डोनर' भेटिएमा म आउँछु । नत्र भगवान्को लीला हो, एक दिन जानै पर्छ । म बाँकी जीवन भगवान्को उपासनामा बिताउन देवघाट जानेछु ।' 

डाक्टरप्रसादले यसो भन्दै गर्दा छविकुमारका गहभरि आँसु भरिए । उत्तमदा पनि अशान्त र व्यग्र थियो । उसले पनि आँसु रोक्न सकेन । डाक्टरप्रसादको जीवन र मृत्युका बीचमा पर्खाल भएर उभिएकी शान्ताले मृत्युको पदचापलाई रोक्न नसक्ने देखिँदै थियो ।

तैपनि सास रहेसम्म आश नछाड्नु भन्छन् । उत्तमदाले भन्यो– 'शान्ता आज लामो र पट्यारलाग्दो यात्राको थकाइबाट शिथिल भएकी होलिन् । यहाँ आउनासाथ कफनजस्तो मेसिनमा बस्नुपर्दा आत्तिएकी हुन सक्छिन् । भोलि उनी शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन सक्छिन् । दिनको दुई बजेभित्रको समय लिने प्रयास गरौं न ? किन यति सजिलै हार मान्नु र कुनै निष्कर्षमा पुग्नु ?'

 

 

(यसै उपन्यासबाट)