विवरण

click this link Website
pandulipi

साहित्य र आमवृत
डा. अभि सुवेदी

मूल्यः US$ 7.95

  •  

    यो एउटा अत्यन्त महत्वपृ्र्ण बहसको विषय हो । आधुनिकता वा “मोडर्निज्म”को बहस नेपालमा भएन । यसको प्रवेश नेपालमा कसरी भयो अनि यसमा कस्ता बहसहरू उठे भन्ने विषयको चर्चा गर्नु सजिलो पनि थिएन र यहाँको चलनअनुसार सोझै यो राम्रो यो नराम्रो भनेर दर्शन र विचारमा सहजता—जल हालेर पतल्याउँदै प्रयोग गर्न बढी सजिलो थियो । बीसको दशक र तीसको बीचसम्म यो आधुनिकताको प्रयोग नेपाली कवितामा भयो । यसका अनेकौं कारण थिए । यसमाथि खासै समीक्षकहरूले विचार, दर्शन, शैली, पश्चिमी पध्दति र त्यसभन्दा भिन्न नेपाली प्रयोग भएका विषयमाथि केही चित्तबुझ्दो लेखेनन् । कि त पन्छाउँन सजिलो थियो कि त एकाध अनुच्छेदमा त्यसभित्र नपसी लेखिटोपल्न सजिलो थियो । तर माथिनै भनें २०५४ सालतिर यस धाराका कविहरू र समालोचकहरूनै भेला भएर एउटा सङ्कलन निकाल्ने निधो गरे । उनीहरूको बीचमा केही कुराका साम्य थिए, केही असहमति थिए । डा. तारानाथ शर्मा, डा. मोहनहिमांसु थापा, कृष्णभक्त श्रेष्ठ, तुलसी दिवस, गणेशबहादुर प्रसाई, वैरागी काइँला भएको सम्पादक मण्डलमा म पनि सदस्य थिएँ । मैले यो मण्डलका कविता छान्ने क्रममा उठेका बहस र निर्णयहरूलाई महत्वपृ्र्ण माने । मलाई भूमिका लेख्ने जिम्मा मिल्यो । त्यो भूमिका यस किताबमा हुने नै भयो । आधुनिकताका बहस, माथिका कविवाहेक अरूहरूका वीचमा भएका छलफल, गोविन्द भट्टका माक्र्सेली आलोचना र पारिजातको शिरीषको फूल अनि शंकर लामिछानेले लेखेको यसको भूमिका विषयमा उठेका सम्पृ्र्ण मोडर्निस्ट विचारका समर्थन र विरोधहरूलाई लिएर मैले त्यो भूमिका लेखें । त्यसमा सङ्कलित कविता र छलफललाई एकेडेमीले यसो शुरुमै झारा टारेर लेखेका अर्थहीन शब्दहरू पढ्दा यहाँ साहित्यका गंभीर बहस भएका उदाहरण कमै छन् भन्ने विश्वास बलियो भयो ।

     

    प्रतिनिधि आधुनिक सङ्कलनको एक वर्षपछि अर्को त्यस्तै प्रतिनिधि समकालीन नेपाली कविता (२०५५) को सम्पादक मण्डलमा परें । त्यसको पनि भूमिका लेख्ने काम मलाई दिने निर्णय भयो र मैले लेखें । “नेपाली कविताको आधुनिकता र समकालीनता” शीर्षक लेखमा मैले पहिलोसँग जोडिएका कुराहरू लेखेर आधुनिक काव्यको एउटा कालक्रमिक छलफलको संरचना गरें । यी रचनाहरूलाई एकै ठाउँमा ल्याउनु आवश्यक थियो । प्रतिनिधि आधुनिक कविताहरूको छलफल आज आएर झन् आवश्यक भएको छ । आजको साहित्य सिद्धान्त, उत्तरआधुनिकतावाद र त्यसको माक्र्सेली आलोचना, समाजका जटिलताहरू खुलेर सँस्कृतिका सर्वत्र छलफलहरू खुलेको समयमा यी कविताहरूको छलफल नगरी हुँदैन भन्ने देखियो । अङ्ग्रेजी विभागका उच्च तहका विद्यार्थीहरूले यस विषयमा अनुसन्धान गर्नु र लेख्नुकोपछिल्तिर यही कारण देखिएको छ । यी लेखहरू यहा“ परेका हुनाले सन्दर्भहरू जोडेको मात्र हुँ ।

    म समालोचना वा भूमिका लेख्ता पहिलो हुन र वा दोस्रो हुन लेख्तिन । जापानी हाइकु कविताको मैले अनुवाद गरेको सङ्कलनको भूमिका विषयमा त्यस्तो रमाइलो प्रसङ्ग आयो । नेपाली विभागका विद्यार्थीहरूले मलाई आएर भने “तपाईंले २०४४ मा काम गरेको निकै वर्षपछि लेख्नेले यो विषयमा पहिलो काम भनेर प्रचार गरेछन् । तपाईं के भन्नुहुन्छ?” मैले भने त्यो पनि पहिलो नै हो । सबै पहिला नै हुन् आलेखहरू । ति मिति अध्येताले हेर्दा भैगयो । भाषाशास्त्रीय वा शैली वैज्ञानिक आलोचना विषयमा पनि त्यस्तै कुरा आए । मेरा लेखहरू साझाका संग्रहहरूमा छन् । त्यस्तै एउटा चाखलाग्दो प्रसङ्ग एकजना युवा पुस्ताका विद्वान् समीक्षक डा. लक्ष्मण गौतमको किताबमा भेटें । यस्तो लेखेको रहेछः

     

    उत्तरआधुनिक प्रवृत्ति वा उत्तरआधुनिक शब्द प्रयोगका दृष्टिले भने २०३८ मा नै अभि सुवेदीको आधुनिक कविताका प्रवृत्तिहरू (मधुपर्क, २०३८, कार्तिक) शीर्षकको लेखको आधुनिकोत्तर नेपाली काव्य उपशीर्षकमा आधुनिकोत्तर शब्द प्रयोग गरेर उत्तरआधुनिकताको सङ्केत गरिएको छ र अङ्ग्रेजी पोस्टमोडर्निज्मको प्रभाव नेपाली कवितामा देखिन थालेको कुरा उल्लेख गरिएको छ ।