विवरण

click this link Website
pandulipi

रित्तो गाउँ
श्यामल

मूल्यः US$5.95



‘उइले, म तरुनी हुँदा, भरिभराउ थियो यो गाउँ । यै बाटो हिन्दा मान्छ्या कुममा कुम ठोकिन्थ्यो बाबु, अहिले मेरा कुम भित्ताका ढुंगामा ठोकिन्छन् ।’ –कुम भित्तातिर ठोके जस्तो गर्दै यसो  भनिरहँदा मैता दिदीको अनुहार मलीन हुँदै गयो । उनका आँखा रसाए र लुकाएझैँ गरी मजेत्रोले आँखा पुछिन् उनले  । र आनी छोरी अर्थात् हाम्री ज्ञानी भान्जीलाई  बोलाइन् ।


मैता दिदीका आँखामा यस गाउँको दुस्वप्नको छाया सल्बलाइरहेको थियो । त्यसो त उनको सिउँदोमा टड्कारो  देखिने  गरी सिन्दुरको  लामै धर्को छ, अलग्गै बस्नु परे पनि श्रीमान् छन् । यी बस्छिन्, डा. चन्द्रबहादुरको  बुढो घर कुरेर, आनी बत्तीस वर्षे छोरी ज्ञानुसँग । ज्ञानुले  घरेलुका दुई गिलास हातमा लिएर आइन् र भनिन्– ‘के खाने मामा ? हामीसँग यै  छ !’


हाम्रो हातमा घरेलु थियो । यही नै त पर्याप्त छ यहाँ ! यही मन नै त पर्याप्त छ, अन्यथा गाउँको  सह गइसकेको छ । कोही युवक बाँकी छैन, कोही युवती पनि आकर्षक मुद्रामा यी बाटामा हिँड्दैनन् । कसैसँग पनि आँखा जुधाउने साइत पर्दैन । ज्ञानी पनि त यस माइतीघरमा एक्लै छन् ।


– ‘भाञ्जी के  काम गर्नु   हु न्छ त ?’
– ‘ग्रामीण विद्युतीकरणमा मिटर रिडिङको  काम गर्छु   मामा !’
– ‘दुल्हा नि ?’
– ‘दुबई  ।’
– ‘घर ?’
– ‘भाटखोला ।’


अब मैता दिदीका ज्वाईं घर फर्कने अरे, बिजुलीको  मिटर पढ्ने  र बिल बनाउने ज्ञानु  विकका गालामा हल्का रातोपन देखिएको छ, एक प्रकारको खुशीको  । बीएड् पूरा गरेर बिजुलीको  महसूल असुल्न हिँड्ने गरेकी यी बत्तीस वर्षे दलित युवतीको डिग्री पढ्ने धोको पूरा होला नहोला, भन्न सकिने अवस्था छैन । पति फर्केपछि, यी भाटखोलातिरै  लाग्नेछन् । अनि बाँकी रहने छन् ढुंगाका चुच्चामा कुम ठोक्दै र विरहको भाका गुनगुनाउँदै मैता दिदी ।


यो  गाउँमा दुईटा विद्यालय पनि छन् भन्दा पत्याउनै पर्ने  हुन्छ । विद्यालय त छन्, पढ्ने  बालबालिका भने छैनन् । फेदीखोलाको  यो  गाउँ वडा नम्बर ६ मा पर्छ  । डा. चन्द्रको घरकै  माथिल्लो डिलमा रहेको युवा वर्ष प्राथमिक विद्यालयको प्रांगण एकदमै  सुनसान छ, तर आया छन्, केही जना दलित परिवारका जस्ता अनुहारमा विपन्नता झल्कने बालबालिका छन् । तर तिनको संख्या, विद्यालयका लागि साह्रै कम हो  ।


सत्र वर्षदेखि विद्यालयकी शिक्षिका रहेकी ४१ वर्षे महिला लीला गुरुङको पनि जीवन उनको प्रिय गाउँ झैँ रित्तो छ । उनले मन पराएर वरण गरेको लोग्नेले आठ वर्षअघि विद्यालय छेवैको जंगलको रुखमा झुण्डिएर मरिदिएपछि उनको वैधव्यकाल शुरु भयो । अब उनले पनि हिँड्नुपर्ने त्यहाँको बाटो झन् झन् बिरानो बन्दै गएको छ । कोही हिँडिरहेको जस्तो लाग्दैन ।


शिक्षिका भएकाले बालबालिका पढाउन दिनदिनै विद्यालय धाउनु, थोरै तलबमा धेरै सन्तुष्ट भएजस्तो देखाउनु र परिचित बाटाहरुमा ओहोरदोहोर गर्नु, यिनै हुन् लीलाका दैनन्दिनी । दार्जिलिङबाट यता आएको  एक युवकसँग प्रेम भएर दाम्पत्यमा बाँधिएपछिका ती दिन उनका अनुहारमा उतिसारो उदाउँदैनन् । र मट्टीखानको १२ कक्षामा पढिरहेकी छोरीको  भविष्यका लागि चिन्ता गर्नु उनका लागि अहिलेको सबै भन्दा पहिलो  काम हो  ।


यिनमा जवानी भरपूर छ । उनको  अनुहार र देहयष्टिले भन्छ– जीवनको आनन्द लिने  ठीक समय यही हो । तर यी कलिलै उमेरमा पतिको आत्महत्याको शिकार भइन् । पति दार्जीलिङबाट नेपाल छिरेको युवक थियो र लीला उसैको  प्रेमलीलामा परेकी थिइन् । तर के  भएर हो  कुन्नि, लीलासँग वा यस समाजसँग के  रसायनले उसलाई टाँसिन दिएन, लीलालाई  पनि थाहा छै न ।
मैले  सोधेँ– ‘भाञ्जी अर्को बिहे गर्न मिल्दैन र ?’


उनी गम्भीर बनिन्, र एक छिनमै लज्जाले उनको  अनुहारको  रंग गाढा रातो  भयो । मैले थपेँ– ‘यस्तो उमेरमा एक्लै बस्नु पीडाको  कुरा हो  । मानसिक रूपमा पनि साथीको  आवश्यकता पर्छ  । सोच्नुस्, यस्तो  समय फेरि फर्केर आउँदैन ।’


लीलाका मामा सिबी बाहिर कतै  हेर्दै थिए । ‘छोरी बाह्रमा पढ्छे, मामा, उसलाई पढाउनुछ । यसो त कहिलेकाहीँ बिहे गर्नुपर्छ जस्तो सोच आउँछ, तर छोरीको भविष्य सम्झन्छु ।’ –भन्दाभन्दै उनको  अनुहारमा निराशाको घना बादलले ढाकिसकेको छ ।

 

मलाई अब उनको निजी जिन्दगीतिर नजाने विचारले दबाब दिन थालेको थियो । तर उनको अनुहारमा उत्सुकता देखेर मैले सोधिहाले“– ‘छोरीसँग सल्लाह गरे हुन्न ?’
– ‘हुन त हुन्छ,... हजुर के  भन्नु हुन्छ मामा ?’
– ‘राम्रो  पार्टनर खोज्न सल्लाह दिन्छु भाञ्जी ।’

– ‘विचार गर्नु पर्ला  ।’ यति भने र उनी भुईंतिर घोरिइन् । उनका मनमा चलेको  हुण्डरीको  म अनुमान गर्न सक्थेँ । यस्तो रित्तो गाउँमा लीलाजस्ता अत्यन्त कम यु वतीहरु बाँकी छन् ।