विवरण

click this link Website
barbarik

रनमाया
इन्दिरा प्रसाई

मूल्यः US$3.95

 

‘ए केटीहो ! तिमेरलाई घर जानु पनि पर्दैन र आज यसलाई यत्तिकै घेरेर बस्छौ ! उता ज्वाइँनारान राम्रै छटपटिएजस्तो छ । दाजु चाहिँ पनि बढै बोल्दैन, म बूढी के बोलूँ, उहाँ निराश हुनुभयो होला ।’ बूढी केटीहरू धपाउने सुरमा लागिन् । बूढीले ज्वाइँका कुरा गर्नासाथ उत्ताउलिएका तरुनीहरू खित्का छोडेर हाँसे । ‘जा है रनमाया ! छिटो जा, परैलाई सारो पारिसक्यो रे’ मनमायाले रनमायाको तिघ्रामा चिमोट्दै छिल्लिएर भनी ।

‘छि .... तिमीहरू कस्तो हो, लाजै छैन जे पनि बोल्छौ’ रनमाया लाजले रातीपहेँली भई । आमाको छेउमै मनमायाको वचनले उसलाई कुरिकुरी भएको थियो ।

‘ओहो, ल भइगयो रानीचरी ! अब केको लाज, हामीसँग लाजको नाटक गर्छेस्, उसँग लाज मानेको भए पो, हैन आमा !’ मनमाया आमासँग टाँसिन गई । आमा बूढी पनि धित मरुन्जेल हाँसिन् । यस्ता कुराले उनलाई पनि भित्रैदेखि काउकुती लागेर आयो । झट्ट आफ्नो बिहे, बूढासँग बिताएका क्षण एकएक सबै सम्झिन् उनले । ‘आज बूढा बाँचेका भए उनकै रात पनि त कहाँ बिरानो हुने थियो र !’ हाँस्ताहाँस्तै भित्र मुटु छुने वेदनाले गर्दा उनले चिसो खुइय काढिन् ।

‘यो मनमाया पोइ नपाएर मर्न लागी, तँलाई पनि यसैसाल गोरु नखोजी कहाँ हुन्छ र ! म तेरी आमालाई भन्दिन्छु है’ आमाले मनमायालाई अँगालोमा बाँधेर भनिन् ।

सबै तरुनीहरू बिदा भएपछि खानपिन सुरु भयो र सकियो पनि । रातको प्रथम प्रहर सुरु हुँदानहुँदै रनमाया खसमको कोठामा पुगेकी थिई । सोह्र दिन बितेपछि पनि उसलाई त्यत्तिकै लाज लागिरहेको थियो ।

गोपालले आफ्नी नवविवाहिता पत्नीलाई टाउकोदेखि खुट्टासम्म हेर्योब । ‘रनमाया साँच्चै सुन्दरी हो’ यस्ती सुन्दरी पत्नी पाएकोमा गोपाललाई गर्वको अनुभूति भयो । रनमाया रूपकी मात्र सुन्दरी थिइन, उ स्वभावकी झनै परम सुन्दरी थिई । गोपालको मनमा विराजमान रनमायाको रूपले उसको सारा संसारमा राज्य गर्न लाग्यो । गोपालले थाहै नपाई रनमायाले उसमाथि राज्य नै गर्दा पनि गोपाल भने झन् परमानन्दमा पुग्न लाग्यो ।

 

(यसै उपन्यासबाट)