विवरण

click this link Website
pandulipi


हेम प्रवास

मूल्यः US$2.95


समयको नाङ्गो पहाड–
घाम छेक्छ/वर्षात् सहन्छ
फुल्न खोज्छ अस्थिपञ्जर रूखहरूमा,
बैँसदार युवतीको सपनामा
र, बिदामा फर्केका लाहुरेका रहरमा ।

अभिलाषा छ गहुङ्गो
चाहनाको भाका सुसेल्दै
मुग्लानबाट फर्केको लाहुरे
हुत्तिन्छन् एक जोडी आँखा–
बैँसदार युवतीको सिनित्त कपालमाथि
पिरपिराउँदो पखेरो,
निहुरिएकी युवती
ओर्लन्छन् लाहुरेका आँखा–
युवतीको सिउँदोबाट क्रमशः क्रमशः
लाहुरे मुस्कुराउँछ– युवती देखेर
अनायास उठेका आँखा झुक्छन् युवतीका
लाजले निहुरिन्छे आफ्नो छातीतर्फ–
दुई दाँतले अधर च्यापेर ।

खोलापारिको पखेरो,
सुनसान परिवेश
नजिकिँदै गरेको लाहुरे
उराठ बैँसको उच्छ्वास छाडेर
सुस्ताइरहेकी छँदी
लाहुरेको मायालु बाहुपासमा
हरियो पहाडझैँ फेरि पलाउन थाल्छे–
आकाङ्क्षामा, कल्पनामा, सहानुभूतिमा ।

लाहुरे उठ्छ धूलो पुछेर
तिर्छ मनोरञ्जन कर– मुगलानको चलनमा
र, भन्छ– सबै युवतीलाई
पहाडमा गुराँसजस्तै
अझ राम्रो गरी
तिमीजस्तै फुलाउनु है ?
फर्कन्छ अघिकै बाटो
टाढिन थाल्छ युवतीको सपनाजस्तै
झिनो बाचा छाडेर–
‘म फेरि आऊँला है ?’

(यसै कवितासङ्ग्रहको बैँसदार युवती र तन्नेरी लाहुरेबाट केही अंश)