विवरण

click this link Website
pandulipi

मनको शिविरबाट
छविरमण सिलवाल

मूल्यः US $ 1.95


छविरमण सिलवालको मनको शिविरबाट भित्रका कविता समकालीन युगजीवनको यथार्थका प्रतिच्छवि हुन् । मानवीय संवेदनाका आभिव्यक्ति हुन् । देशको आर्थिक दुरावस्था, गरिबी, अभाव, बिपन्नता आदिका यथार्थ बिम्बात्मक प्रस्तुति हुन् । मानवता, शान्ति, सद्भाव र समुन्नतिका चाहना हुन् । युद्ध, विसङ्गति, विकृति आदि तमाम नकारात्मकताप्रतिका विमतिका उद्घोष हुन् र अविधामै अर्थिने काव्यचेतनाका अभिव्यञ्जना हुन् । त्यसैले उनका यी कविता बहुविधा चरित्रका हुन रुचाउँछन् र पाठकीय सम्प्रेषणका नजिक छन् । यस सङ्ग्रहका कवितामा सादृश्यविधानको न्यूनता भए पनि अन्तर्वस्तुको प्रस्तुतिका दृष्टिले ती सबल छन् र काव्यलाई उठान र बैठानको व्यवस्थित विन्यासमा लैजान कवि समर्थ छन् भन्ने कुरा उनको यस सङ्ग्रहका कविताहरू पढ्दा थाहा हुन्छ ।

 

यस सङ्ग्रहका सबै कविता कविताका लघुरूपको आयाममा रहेकोले ती प्रगीतात्मक संरचनामा लेखिएका छन् र प्रगीतात्मक संरचनामा लेखिएका हुनाले नै प्रत्येक कविताका केन्द्रीय कथ्यलाई परिपुष्टता प्रदान गर्नका लागि अन्य विविध अन्तर्वस्तु पनि परिधीय रूपमा आएका छन् । यसरी परिधीय रूपमा अन्तर्वस्तुको प्रयोग भएका केही कविता आयामका दृष्टिले केही लामा छन् र तिनमा विषयविस्तार भएको छ भने विषयविस्तार नभएका केही कविता अपेक्षाकृत छोटा छन् । यसरी प्रस्तुत कवितासङ्ग्रहका कविताले संरचनात्मक प्रष्टता प्राप्त गरेका छन् । ध्वन्यात्मक, साङ्केतिक, प्रतीकात्मक तथा बिम्बात्मक संयोजन यी कविताको मूल अपेक्षा भएकाले धेरै कवितामा अन्तर्वस्तु र शिल्पविधानका बीच समन्वय भएको छ ।

 

समग्रमा कवि छविरमण सिलवालको मनको शिविरबाट सङ्ग्रहका कविताहरूले युगीन यथार्थको प्रकटीकरणलाई ज्यादै सशक्त रूपमा देखाएका छन् र वर्तमानबोध यस सङ्ग्रहका कविताको विशेषता हो । सांस्कृतिक चेतना पनि केही कवितामा परिलक्ष्यित भएका र अन्य अन्तर्वस्तुको विन्यासले यस सङ्ग्रहका कवितालाई अन्तर्विषयकताका दृष्टिले पनि हेर्न सकिन्छ । यी कविता समकालीन नेपाली कविता फाँटमा आफ्नो उपस्थितिको सबलता देखाउन सक्षम छन् ।

- डा. लक्ष्मणप्रसाद गौतम