विवरण

click this link Website
pandulipi

स्वअस्तित्वको खोज
सं. अर्चना थापा

मूल्यः US$ 7.45

  •  

    यो सङ्ग्रह अरू साहित्यिक कृतिहरूभन्दा अलि फरक छ किनकि यसले सामाजिक रूपले

    निर्मित नारीसम्बन्धी सत्यहरूलाई पन्छाउँदै तिनका ‘म’ भावलाई प्राथमिकता दिएको छ ।

    नारीस्रष्टाका स्वभोगाइ, स्वरोजाइ तथा निजात्मक भावनाहरूलाई उनीहरूकै लेखनीमार्फत

    दर्साउने प्रयास गरेको छ । उनीहरूका दैनिक जीवनका अनुभव, सोचाइ र भोगाइको

    सङ्कलन हो स्वअस्तित्वको खोज ।

     

    ख्यालठट्टा गर्दा प्रायः भनिन्छ— ‘आइमाईहरूमा कथा रच्ने विलक्षण प्रतिभा हुन्छ ।’

    अझ कहिलेकाहीँ होच्याउने पारामा पनि भनिन्छ— ‘आइमाईका गन्थन कहिले सकिँदैनन्’

    वा ‘कस्तो आइमाईजस्तो कुरा गरेको’ आदि इत्यादि ।

     

    हो, ‘नारीमा कथा भन्ने प्रतिभा हुन्छ’ भन्ने कुरा सत्य हो । अरू समाजमा जस्तै नेपाली

    समाजमा पनि बालबालिका आफ्ना हजुरआमा र आमाका कथाहरू सुनेर हुर्केका हुन्छन्

    । शताब्दियौँदेखि नारीहरूले मौखिक कथाहरू— दन्त्यकथा, राजारानीका कथा, परिकथा

    आदि भन्दै आएका छन् तर विडम्बना के छ भने उनीहरूका कथामा प्रायःजसो नारी

    कथावाचकको ‘म’ अदृश्य हुन्छ । आफ्ना कथाहरूमा उनीहरूको ‘म’ र ‘मेरो’ ले ठाउँ पाउँदैन

    । ती कथाहरू धेरैजसो ‘त्यहाँ पर’ देखिएका (बाहृय संसार) ‘एकादेशको कथा’ हुन्छन्, जसमा

    नारी कथावाचकका ‘स्व’ आधार, संसार र अनुभूतिहरू ओझेल पर्छन् । आफ्नै कथामा

    उनीहरूका आफ्ना रोजाइ, भोगाइ, भौतिक विचार, रहर, उमङ्ग, दुःख आदिले ठाउँ पाउँदैनन्

    । किन होला यस्तो भएको ? कारण एउटा नभएर अनेकौँ हुन सक्छन् ।

     

    स्वअस्तित्वको खोजको अर्काे विशेषता छ— यसमा समेटिएका नारी आख्यायकहरूले

    परम्परित सामाजिक संरचनालाई केही समयका निम्ति निजात्मक संवेदनाको धरातलबाट

    आआफ्ना अनुभवहरू व्यक्त गर्ने प्रयास गरेका छन् । सामाजिक रूपले प्रतिपादित

    निःशब्द नारीमौनताविरुद्ध यी आत्मपरक लेखहरूले एउटा सामूहिक शङ्खनाद गरेका छन् र

    मौनताको साङ्लालाई लेखनीको माध्यमबाट पन्छाउने प्रयत्न गरेका छन् । हुन त शाब्दिक

    उद्घोषले मात्रै एकाएक कुनै आमूल परिवर्तन हुन्छ भन्न सकिन्न तर मौनताका साङ्लाहरू

    जतिजति मक्किँदै जान्छन् त्यति नै नारीका अन्तर्मनका गहिराइमा भास्सिएका, लुकेका,

    दमित अनुभूतिहरू शाब्दिक अभिव्यक्तिमार्फत उजागर हुँदै जान्छन् । यस किसिमका

    अभिव्यक्तिले तथाकथित ‘निर्मित’ नारी सत्यहरू र मौनस्वीकृतिका मिथ्या अर्थहरूलाई

    पनि प्रश्न गर्न थाल्छन् ।

     

    - अर्चना थापा

    (सम्पादक)