विवरण

click this link Website
pandulipi

कास्कोल
विपुल बिक्रम सिजापति

मूल्यः US $ 2.95

 

उनी फिस्स हाँसिन् र सोधिन्, “के काम ?” 
“मेरो घर सफा गरिदिने, मलाई खाना बनाइदिने ।”  
“साँच्चै ?” 
“बरु तिमी कति पैसा लिन्छौ भन ।”  
उनले बुवातिर पुलुक्क हेरिन्, आँखै आँखामा राजी भएर होला, भनिन्, “जति दिए पनि हुन्छ ।”    
“चार सय मार्कमा ठीक होला ?” 
“ठीक छ, म गरिदिन्छु ।”  

त्यसपछि उनी मेरो कोठामा काम गर्न आउन थालिन् । कोठा सफा गर्ने, लुगा धुने, मेरो लागि खाना बनाइदिने आदि यावत् काम उनी गरिदिन्थिन् । म विभिन्न बहानामा उनका हात, निधार चुमेर कृतज्ञता देखाउँथेँ, उनी केही बोल्दिनथिन् । मानिस कति निकृष्ट हुन्छ, कति व्यभिचारी हुन्छ, अधम हुन्छ । आफ्ना केही उपकारको बदलामा अहमता देखाउँछ । आफ्ना दम्भले अरूका भावना चुर–चुर पारिदिन्छ । मैले पनि मेरा आदर्शलाई कुल्चँदै गएँ, पुरूषत्व देखाउँदै गएँ, कहिले हात चुमेर र कहिले निधार चुमेर । यही दम्भमा मैले धेरै पटक उनको भावना, उनका छट्पटीलाई समेत बेवास्ता गर्दै चुम्बन समेत लिएँ । मेरा सहयोगका बोझले उनी केही बोल्न सक्दिनथिन्, मेरो भने राक्षसीपन बढ्दै गएको थियो र त्यो दिन ......

त्यस दिन म घर अलि अबेर गएको थिएँ । साथीको घरमा पार्टी थियो र पिएको पनि थिएँ । म कोठामा पुग्दा उनी कुरेर बसेकी थिइन् ।
“खाना खानु पर्दैन ? यति अवेलासम्म कहाँ गएको ?” 
म केही बोलिनँ ।
“भोलि बाबालाई अस्पताल लानु छ, केही पैसा दिन सक्छौ ?” 
मैले पाँच सय मार्क निकालेँ र मुस्कुराउदै उनी नजिक गएँ । उन्मादमा मैले उनलाई अँगालेँ । मुखबाट निस्केको रक्सीको गन्धले उनी केही पर हटिन् र अमिलो अनुहार लगाइन् । म भने उन्मत्त भई झन् अँगाल्न गएँ । सायद पैसाको आवश्यकता थियो क्यारे, उनले विरोध गरिनन्, म हिंस्रक बन्दै गएँ, के गरेँ के गरिनँ, पत्तो भएन तर अचानक उनले मलाई जोरले धकेलेर पर गइन् । म तर्सिएँ । उनी क्रोध, विवशता र घृणाले काम्दै थिइन् । उनको अनुहार डमरु मारिएकी सिंहिनीको झैँ हिंस्रक र भयङ्कर थियो । त्यो रूप देखेर म चकित भएँ । मेरोलागि सम्मान र आदर हुने आँखामा तिरस्कार थियो, घृणा थियो । के गल्ती गरेँ, के भयो, मैले सोच्नै सकिनँ । उनी भक्कानो छोडेर रुन थालिन् ।
मैले डराई डराई सोधेँ, “के भयो ?” 
“के भयो ? तिमीले हामीलाई उपकार गरेका छौ, गुन लगाएका छौ, हामी तिम्रै सहाराले बाँचिरहेका छौँ ।” बलिन्द्रधारा आँसु झार्दै उनले भनिन्, “तिमी यो शरीर उपभोग गर्न सक्छौ तर प्लीज.....प्लीज थापा, डन्ट किस अन माई आइज्, एभो ए जा मोय मोमक, एभो ए जा मोय मोमक (यो मेरो मोमकको हो), मेरो मोमक चिहानमा छ तर यो मेरो मोमकको नासो हो, प्लीज.. डन्ट किस अन माई आइज्.....प्लीज.... डन्ट किस अन माई आइज्.........”