विवरण

  Website
pandulipi

जयमाया
सम्पादनः कृष्ण अविरल

मूल्यः US$5.95


जयमाया देश खोज्न भौंतारिएका शरणार्थीहरुको भोगामाथि लेखिएक मर्मस्पर्शी कथाहरुको औपन्यासिक प्रस्तुति हो । प्रसिद्ध आख्यानकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’, डा. गोविन्दराज भट्टराईको उपन्यास ‘मुगलान’, शिवकुमार राईको डाकबंगला, लीलबहादुर क्षेत्रीको ‘ब्रह्मपुत्रको छेउछाउ’ आदि का पात्रहरुलाई लिएर कृष्ण धरावासीले ‘शरणार्थी’ उपन्यास लेखे । त्यही शरणार्थीका पात्रहरुलाई लिएर अन्य नौँजना कथाकारहरुले लेखेका भिन्नभिन्न ११ कथाहरुको सिलसिलेबार प्रस्तुति नै ‘जयमाया’ कथोपन्यास हो । यसमा कृष्ण बराल, विश्वप्रकाश शर्मा, लीला अनमोल, सुबिन भट्टराई, उमा सुवेदी, विनोद खनाल र विवश बलिभद्र कोइरालाका एक–एक तथा दुर्गा विनय र कृष्ण अविरलका दुई–दुई कथा छन् । यसको सम्पादक पनि अविरल नै हुन् ।


‘शरणार्थी’ उपन्यासको अन्तिम अंशबाट सुरु भएको यसमा नेपाली मूलका भुटानी नागरिकहरुले व्यहोर्नुपरेको दारुण अवस्थाको चित्रण छ । भुटानी सेनाको अत्याचार, झापाको खुदुनावारी शिविरभित्रको सकसदेखि तेस्रो मुलुक पुग्दासम्मका अवस्थालाई कथाकारहरुले आ–आफ्नै ढंगबाट प्रस्तुत गरेका छन् । देशविहीन भएर बाँच्नुको पीडासँगै भुटानी नेताहरुको स्वार्थी चरित्र, घातअन्तर्घात पनि छताछुल्ल भएर पोखिएको छ । एउटा पात्रलाई विद्रोही बनाएर भुटान पठाइ वा तेस्रो मुलुक पलायन हुनु मात्र समाधान होइन भन्ने सन्देश दिएको छ ।


पढ्दै जाँदा पाठकलाई यसका पात्रहरु जीवित छन् जस्तै लागछ । कतिपय कथामा पात्रहरु कथाकारहरुसँग असहमति जनाउन अघि सरेका छन् । लेखक विरुद्ध विद्रोह बोलेका छन् । यसको भूमिकामा चर्चित समालोचक तथा आख्यानकार डा. संजीव उप्रेतीले लेखेका छन्, ‘कथा जीवनजस्तो लाग्छ भने जीवन कथाजस्तो । जीवनको यसै दोसाँधमा जयबहादुर र जयमाया फेरि अवतरित भएका छन् । पुराना कथा भत्काएर नयाँ बनाउँदैछन् । त्यसै दोसाँधमा लीला घटेको छ । पाठकहरुलाई स्वीकार गर्न आग्रह गर्छु ।’