विवरण

click this link Website
barbarik

फूलमाया
खगेन्द्र संग्रौला

मूल्यः US$4.95

 

‘चतुरे दाइ !’ मूल बाटाको एक छेउमा थुचुक्क बस्दै नेप्टीले डाकी । उसका आँखा मधुरा थिए

र अनुहार फुस्रो । उसका कलिला गाला ओइलाएको फूलजस्तै विरक्तलाग्दा थिए र दृष्टि

निराश । उसको हृदय पनि त्यसैत्यसै उदास थियो ।

‘किन ?’ चतुरे नेप्टीनेर आएर आँपको जरोमाथि बस्यो ।‘दाइ !’ चतुरेका कम्मरमा

अँगालो मार्दै न्यास्रिएको स्वरमा नेप्टीले सोधी, ‘हाम्रा बा आउने बाटो यै हो ?’

‘बाटो त यै हो, तर आउने ठेगान छैन ।’

‘हाम्रा बा नि लाउरे हुन् ?’

‘लाउरे हैन, चौकीदार । त्यै क्या त्यै इस्कूलको पाले मङ्गले जस्तै ।’

चतुरे पारिको डाँडोतिर हेर्दै टोलाइरह्यो । नेप्टीले पनि त्यो बाटो हेरी । बा आएको

देख्न तिर्खाएका उसका आँखामा फुस्रो बाटो, भेलले खेत पुरेको खोलाको खैरो बगर, तल

खोलाको डीलको झ्याम्म परेको आँपको रुख अनि पारिपट्टिको अग्लो डाँडोसम्म फैलिएको

अनन्त शून्य बाहेक केही देखा परेन ।

नेप्टीको अबोध मुटु गाँठो पर्‍यो ।

‘दाइ !’ रुन्चे स्वरमा नेप्टीले विरह पोखी, ‘बा नआए हामी भोकै मर्ने त

दाइ ?’

उसको वचन चतुरेको हृदयमा रोपियो । उसको आङ सिरिङ्ग भयो । उसले बहिनीलाई

फुल्याउने सुरले नेप्टीको आङ मुसार्‍यो । दाजुको छातीमा मुन्टो राखेर ऊ सुँक्कसुँक्क रोई ।

चतुरेलाई विरक्त लागेर आयो । आठ वर्षकी नाबालक नेप्टी गहिरो रङ्गका प्रश्न चतुरेलाई

यसरी सोध्थी मानौँ उसले प्रत्येक प्रश्नको मन–माफिकको उत्तर फटाफट दिन सक्छ । तर

चौध वर्षको चतुरेको मनमा उल्झनै–उल्झन र कष्टै–कष्टको माखेसाङ्लोबाहेक केही थिएन

‘हाम्रा बा एक न एक दिन पक्कै आउँछन् ।’ पट्टाइलाग्दो मौनतापछि चतुरेले भन्यो

अनि दाहिने हातको चोर औँलाले बहिनीका आँसु पुछिदियो ।

नेप्टीलाई त्यो ‘एक न एक दिन’ कहिल्यै आइनपुग्ने दिनजस्तो लाग्यो । उसले आँखा

चिम्लेर के के सोच्न खोजी, तर त्यो दिनलाई ऊ जति ओर तान्न खोज्थी उसको बेचैन

कल्पनामा त्यो त्यत्तिकै पर हुत्तियो ।

‘दाइ, हाम्रा बा कहाँ छन् ?’

‘उः त्यो डाँडापारि त्यत्रै सात डाँडा छन् अनि डाँडामुनि अजङ्गको सागर छ । हाम्रा

बा त्यै सागरपारि पराईको देशमा छन् रे ।’

‘दाइ ! त्यो माथिको अक्कासे भीरबाट हाम्रा बा देखिन्छन् ?’

‘काँको देखिन्थे ?’ निधार खुम्चाएर आँखा चिम्रा पार्दै चतुरेले भन्यो, ‘पैले चार दिन

मटराँ अनि एक दिन के जाती रेलमा कुदेपछि बा भा’को ठाउँ आउँछ भन्छन् । मुग्लान भनेको

भारत हो । भारत भनेको हाम्रा बाको अड्डा भ’को ठाउँ... ।’

दाइको कुरा सुन्दै नेप्टीलाई कहाली लागेर आयो । उसलाई आफ्नो बिरानो बा कहिल्यै

नफर्किने बाटामा पो गएको हो कि भन्ने लाग्यो ।

‘भो नरो !’ नेप्टीका गाला मुसार्दै चतुरेले फकायो, ‘नरो, बा एक न एक नि पक्कै

आउँछन् । अनि बा आएपछि हामीलाई यस्तो दुक्ख हुँदैन ।’

(फूलमाया उपन्यासबाट)