विवरण

click this link Website
pandulipi

धोबीघाट एक्सप्रेस
रोशन शेरचन

मूल्यः US$6.95



आफ्नो जीवनलाई बूढो हुनबाट रोक्न म कविता लेख्छु ।
(म कविता किन लेख्छु ?)


पहाडमा गाउँहरूलाई हेर्ने नै देउरालीबाटै हो । देउराली भ्यान्टेज प्वाइन्ट हो । देउराली सकिएपछि हिँडेको गाउँ सकिन्छ भनिन्छ । त्यसैले देउरालीको ढुङ्गामा पाती र खादा चढाउने चलन छ । मैले म्याग्दीको मगरगाउँ देउरालीको रूखमा सयौँ खादाहरू चढाएको देखेको छु । अन्तिम पटक मन लागुन्जेल वरपरको ल्यान्डस्केपलाई आँखाभरि सोहोरेर हामी तल झर्र्यौँ ।
(कोलाज यात्राः छङदोर, भालुखोप र ओक्रा)


पाण्डुलिपि फर्काउँदै वर्तमानले परिचित शैलीमा भनेका थिए, “प्रकाशनमा हतार नगर्नू रोशन । पर्याप्त समय दिएर मात्र सङ्ग्रह निकाल्नू । सङ्ख्यामा लहसिनु हुँदैन । अब हामी सेलेक्टिभ हुनुपर्छ ।” मैले धन्यवाद मात्र भनेँ । सकेसम्म हतार गर्दिनँ भने । वर्तमान दाइलाई मैले भनेको थिएँ, “दसैँको समयलाई परिमार्जनमा लगाउँछु । त्यसपछि तपाईंसँग भेटूँला । तर, अष्ठमीमा हठात् हामी सबैलाई छाडेर गएछन् । घाटको कल्याङमल्याङले मेरो सोचाइ भत्कियो । शवको अधिकांश भाग जलिसकेको थियो । धूवाँहरू पनि थाकेर धेरै माथि उड्न सकिरहेका थिएनन् । मान्छेका टाउकामाथि र मन्दिरका गजूरको उचाइमा आलसतालस गरिरहेका झैँ देखिन्थे । मैलो बादल बाग्मतीमाथि रुमल्लिरहेको थियो । केही लेखकहरू फर्कन थालेका थिए । म पनि सम्पूर्ण शव जल्नुअघि नै फर्कें गह्रौँ मस्तिष्क बोकेर । कुनै अव्यक्त पीडाले म अन्तसम्मै बस्न सकिनँ । सायद केही रहन दिनुपर्छ भन्ने ठानेँ– जल्न बाँकी टुक्रा शव, आडम्बरप्रतिको तीव्र घृणा, कविता पाठ गर्दाको गम्भीर अनुहार, अलिकति रक्सीको मात र कहिलेकाहीँ अप्रत्याशित बज्रने गोविन्दीय आक्रोश । अष्टमीको दिनमा आर्यघाटमा दिएको श्रद्धाञ्जलिलाई सायद यो लेखमार्फत पूरा गर्दैछु । आर्यघाटको पार्किङ्मा ह्यान्डिलबाट हेलमेट झिकेर लगाउँदै गर्दा म भनिरहेको थिएँ– अलबिदा वर्तमान दाइ !
(मृत्युको समाचार लुकाउन सकिन कुमार)


केही वर्षअघिसम्म कालीगण्डकीको बगरमा खच्चडको लस्कर देखिन्थ्यो । नाइके खच्चड लम्बोको निधारमा सजिएको सानो ऐना, टाउकोमा उनिएको चमरको झुप्पा र घाँटीमा बाँधिएको ठूलो घण्टीबाट निस्कने टिङटिङ टिङटिङको अनवरत आवाज र त्यसले कालीगण्डकीको खोँचमा उत्पन्न गर्ने प्रतिध्वनि अब सुन्न पाइँदैन । बटुवाहरूसँग जम्काभेट हुँदा सोझो खच्चड हच्केर केही बेर रोकिँदा नाकको पोराबाट निस्केको तातो बाफ अब देख्न पाइँदैन ।
(फेसबुक संसार र विसङ्गतिका काराभान)