विवरण

click this link Webseite
pandulipi

दमिनी भीर
राजन मुकारुङ्ग

मूल्यः US$8.95

 

(मदन पुरस्कार-२०६९ प्राप्त कृति)

‘माइली, कान्छालाई देऊ त !’ जा“ड भरेको सिल्बरे बटुको लच्छीको अघि राखिदिई हाङ्दिमाले ।
‘आफै तानोस् मुर्दार्ले !’ ठुस्स परेर लच्छी उता फर्किई ।
‘तँ कुछेत्त्नीले दिनु पन् परेको छैन,’ कान्छोले बटुको आफै तान्यो । मिलिकमै ।
‘के भनिस् रे डाँठे ?’ छेवैको बेल्चा टिपेर जुरुक्कै उठी लच्छी । भनी, ‘मर्लास् यै बेल्चाले !’
‘ए ए !’ रोके जैकुमारले । खोसे बेल्चा ।
‘हान्छस् ? बाउको छोरी होस् भने लु हान् !’ कान्छोले गर्धन नै थाप्यो ।
‘लु भो भो !’ रत्नाले कान्छोलाई तानी आफूतिर । कान्छो हुत्तियो । लपक्कै टाँसिन पुग्यो रत्नामै । पलमै छुट्यो । कान राता भए त्यसका ।
‘हना तिमारु के भाको ?’ बेर्दै गरेको पाते बिँडीलाई कानमा सिउरिए रामे माइलाले । भने, ‘एउटै टिममा पुन् यसो गरेर कसरी हुन्छ गाँठे ?’
‘यै मुर्दार् त हो नि काका,’ लच्छीले छड्के आँखा मारी कान्छोलाई । रत्नासँग कान्छो टाँसिन पुगेको त्यो पल, कतैको डाहले गलायो अलिकता । बसी थचक्क । भनी, ‘मैले त हुन्छ कि...’
‘इ... !’ हातै बनायो कान्छोले ।
‘कान्छा, खोजिस् त ?’ उठी हाङ्दिमा ।
‘माफ पाऊ“ फुपू !’ कान्छो थचक्कै बस्यो । कानै समाएर । उठबस नै गरुलाँझैँ गरेर ।
‘मलाई होइन, उल्लाई,’ ओंठले संकेत गरेर लच्छीतिर देखाई हाङ्दिमाले ।
‘पर्दैन फुपू,’ सनक्क सन्किई लच्छी । अलि परको पात्लेको ओसिलो छायाँ र सियाँलनेर गई । भित्तोमा अडेसिँदै टुसुक्क बसी भुइँमा । मनमा एक प्रकारको उद्देलन पलायो । एक झोंक विस्मृति, एक झोंक घृणा, एक झोंक तिरस्कार अथवा अनेकन् निस्पन्दनताहरु उछालिए । आवेग कहीँ थियो होला, फुत्तै आयो बाहिर । मायाबिहीन रनकले तातो भई होला उस्तै । कान्छोलाई कड्के हेरी । कान्छो उसरी नै टुक्रुक्क थियो ।
भनी लच्छीले, ‘यो मुर्दार्को कीरे–कसम त कुकुरकै पुच्छर ! बार बर्ख ढुङ्ग्रोमा राखे पन् बाङ्गै !’
‘सोझिन्दैन भनेसी बल नगर् माइली !’ भन्यो कान्छाले । एक पटक जोडैले आँखा सन्कायो लच्छीलाई । अझै उल्याउने मन भयो । भन्यो, ‘सक्दिनस् यो बाङ्गो पुच्छरलाई ।’
‘भो भो ! चुप लाग अब !’ अघिको बेल्चा टिपी हाङ्दिमाले ।
‘मचैँ यो समूहमा बस्न सक्दिनँ । यल्ले मलाई देखिसन्दैन,’ भनी लच्छीले । ‘सक्दिन भन्छस्, फेरि बस्छस् । बुझिनसक्नु तेरो कुरा,’ कान्छोले झनै उल्यायो । भन्यो, ‘गइहाल्नु नि बरु ।’
‘बस्दिनँ हौ बस्दिनँ ।’
‘साँच्चै बस्दिनस् ?’
‘बस्दिनँ ।’
‘आमा–कसम ?’
‘बस्दिनँ ।’
‘नबसे नबस् ! कल्लाई सुनाउँछस् त ?’ कान्छोले हातको धुलो फट्कार्यो, । हाफपेन्टको गोजीमा केही खोज्यो । भन्यो, ‘नाम्धालुङ समूहमा जान्छु, भनेको हैनस् ? गइहाल ऐले नै !’
‘जैले जाऊँ, जाँसुकै जाऊँ तँलाई केको खसखस ?’
‘भयो भयो । अब दुइटै चुप लाग !’ बीचमा आए जैकुमार । सम्झाए दुवैलाई, ‘एउटै समूहको मान्छे । बाझोजुझो गरेर काँ हुन्छ ? अरुले कति कति कमाइसको । हाम्रो भने पाँचउ “भो कैल्यै चढेन ।’
‘यै मुर्दार् त उस्तो छ नि काका । मलाई त देखिसन्दैन,’ लच्छी भावुक भई । त्यसको मन त्यसै बहलियो । हल्का बतासले स्पर्श गर्यो निधारमा त्यहीबेला । प्रिय अनुभूतिले छपक्क भई ऊ । छामी कपालमै । रुन्चे स्वर निकाली अनायासै, ‘जैल्यै हेप्छ मलाई ।’
‘माइली, नरिसा न ! चित्त नदुखा !’ कहीँको कठोर थिएन कान्छो । एक फाटक हृदय चिरियो त्यसको । फारियो च्यातिएर व्यतिरेकले । विनयीले जित्यो पलमै । पलमै रसाउन खोज्यो देह–दुनियाँको मूल । अहिल्यै पोखिएलाझैँ भयो अवान्तिका । टुसायो मायाको मुना । हाफपेन्टको गोजीमा केही खोज्यो । भेटेन । गयो लच्छीको नजिकै । झण्डै पिर्लिक्क भयो आँखामा । थाप्यो अञ्जुली । भन्यो, ‘बरु, एक खुराक ले न !’
‘दिन्छु नि तँलाई,’ अर्कोपट्टि फरक्कै भई लच्छी । लच्छीको कपालले एक सप्को मार्योन कान्छोको अनुहारभरि । कपाल सम्हाल्दै भनी लच्छीले, ‘खा न आनै ! कति अर्काकै भर पर्छस् ?’