विवरण

click this link Website
pandulipi

छुकी
बिना तामाङ 'सुनगाभा'

मूल्यः US $ 2.95

म छुकीसँग पुरै जीवन बिताउन चाहन्थेँ । एउटा भिन्नै संसार सजाउन चाहन्थेँ । तर त्यसका लागि छुकी तयार हुनुपथ्र्यो । उनले मलाई कसरी हेरेकी छिन् म यस कुराबाट अनभिज्ञ थिएँ । एक मनले भन्थ्यो– ‘छुकीलाई पक्कै थाहा छ म उनलाई मन पराउँछु ।’ अर्को मन भन्थ्यो– ‘विचरा मैले कहिले भने पो थाहा पाउनु ।’ यस्तै दुविधामा रुम्मलिएँ निकै दिन । अनि मुटु दरो पारेर निकै भावुक भएर एकदिन भनिछाडेँ– ‘छुकी म हजुरलाई मन पराउँछु र बाँकी जीवन हजुरसँग बिताउन चाहन्छु । के हजुर मलाई साथ दिनु हुन्छ ? कृपया मलाई गलत ढङ्गले नबुझिदिनु होला ।’

 

यति भनिसक्दा मेरो शरीर पुरै काँपिरहेको थियो । गला अबरूद्ध भएको थियो । होस्हवास उडिसकेको थियो । मैले उनको जवाफ चाहेको थिएँ । सकारात्मक या नकारात्मक, तत्कालै जवाफको प्रतीक्षामा थिएँ । तर उनी मौन रहिन् । सोचेको थिएँ– कि त म उनको प्रतिक्रियाबाट अत्यन्तै खुशी हुन्छ कि त दुःखी । तर छुकी शान्त नै थिइन्, मानौँ उनमा कुनै संवेग नै थिएन ।

 

प्रतिक्रियाहीन उनको अनुहारमा म भुटभुटिएँ । न हाँसो न विस्मात । न आक्रोश न माया । न खुशी न दुःखी । उनको मुखाकृति एकदमै शून्य थियो । निकैबेर उनी जडवत् शरीर र संवेगहीन अनुहार बोकेर उभि रहिन् । म युद्धभूमिमा हार खाएको योद्धा झैं चुपचाप बसिरहेँ। भित्री मनमा भने ज्वारभाटा उठिरहेको थियो– कतै मैले छुकीको मन त दुखाइनँ ? भावनामा ठेस त पुर्‍याइनँ ?

म निरुत्तर कोठामा फर्कें । रातभर औडाह र छटपछीले सताइ रह्यो । आँखाभरि छुकीको निरुत्तर अनुहार खेलाउँदै कोल्टे फेरिरहें । छुकीको त्यो रात कस्तो भयो होला ? भोलिपल्ट छुकी चाँडै अफिस गइछिन् र राति अबेर मात्रै फर्किइन् । पर्सिपल्ट बिहानै घन्द्रयाङ घुन्द्रुङ् आवाजले मलाई ब्युझायो । झ्यालको पर्दा बिस्तारै तानेर तल आँगनमा हेरेँ । उफ् ! छुकी त भटाभट कोठाको सामान पो ओसार्दै थिइन् । म छानाबाट खसेझैँ भएँ । छुकी यस घरबाट जाँदै थिइन् । मैले यति बुझेँ । लाग्यो– मेरो धृष्टताको सजाय छुकीले म र यो घरबाट अलग्गिएर दिंदैछिन् । म अपराधबोधले निचोरिएँ ।

 

एकाएक रिङ्गटा छुट्यो । शरीर थरथरी काँप्यो । आँखाहरू त्यसै त्यसै रसाएर आए, मानौं अविरल नदी बग्न खोज्दैछ । मनभरि प्रश्नहरू दौडाइरहें– ‘किन ? किन ? छुकी किन ? मलाई यति ठूलो सजाय दिँदै छ्यौ ? मैले गल्ती गरेको भए गालामा थपड हाने नि हुन्थ्यो ।


अथवा मुखमा थुके पनि म सहन सक्थेँ । तर त्योभन्दा पनि बढ्ता चोट दिएर यहाँबाट किन जाँदैछ्यौ ? किन ?’ म उनको अगाडि यस्तै प्रश्नहरू तेस्र्याउन चाहन्थेँ । तर खुट्टाहरू जमे, भूँइमै टाँसिए जस्तो । पाइला जति प्रयास गर्दा पनि सर्दै सरेन । अस्ति छुकी जड्वत बनेकी थिइन्, आज म भएको छु । मेरो अनुहार प्रतिक्रियाहीन बनिरह्यो– फुङ्ग उडेको । एकोहोरो एकोहोरो ।

मनभित्र भुलुक्क केही भएको झैं भयो मलाई । संसारै बिरानो लाग्न थाल्यो मानै अब बाँच्नुको कुनै सार्थकता छैन । कसैलाई अनाहकमा पुर्‍याएको चोटको अपराधबोधी मनोविज्ञानमा म पिल्सिरहें पिल्सिरहें । सजायको भागिदार म नै हुँ । यस्तै सोचें । र आत्मग्लानीको दबदबे हिलोमा म डुबें । मनमा विचार आयो– अब यो सजायको भागिदार म आफैं हुनुपर्छ । यसपछि मैले कोठाको सिलिङतिर हेरें र, फटाफट डोरी बाँध्न थालेँ ।

 

‘ढक ढक ढक ढक....’ ढोकामा त्यति नै बेला कसैले आवाज दियो । हतास मनस्थितिका साथ ढोका खोलेँ । बाहिर छुकी उही अनुहार उभिरहेको थियो– हातमा कागजको टुक्रासहित ।