विवरण

click this link Website
pandulipi

चौबीस रिल
भूपिन

मूल्यः US$6.95



जीवनको क्रिकेट मैदानमा मायाको प्राणको मिडल स्टम्प ताकेर सबैभन्दा तीव्र गतिमा बलिङ गरिरहेको थियो मृत्यु । माया भाँचिएको ब्याट समाएर कुनै हेलमेटविना पिचमा उभिएकी थिई । उसको मुडुलो टाउकोमा कतिबेला सोयब अख्तर भाँतीको बल आएर टकराउने हो ? त्यो सोचेर मेरो सास बढिरहेको थियो । म बिल्कुल निरीह दर्शक, जीवनको स्टेडियममा बसेर यो त्रासदी हेरिरहेको थिएँ ।
('बेङ्लोरमा आँधीको चरा' बाट)


शिशाका गिलासमा ह्विस्कीले पगाल्दै गरेका बरफका टुक्राहरु शान्त देखिन्थे तर टुक्राहरुको नियतिले मलाई त्यसै त्यसै संवेदित बनाउँदै थिए । अवसादका क्षणहरुमा मलाई आफू त्यस्तै बरफको टुक्राजस्तै लाग्थ्यो । आशाको रेफ्रिजेरेटरमा विचार चिस्याएर म फेरि आफूलाई बरफ बनाउने कोसिस गर्थें । म ह्विस्कीको गिलासमा छिटो छिटो अस्तित्व गुमाउने बरफ बन्न चाहन्नथेँ ।
('सेप्टेम्बर ११ को ऐँठन'बाट)


रात्री भोजनका लागि भोजन कक्षतिर जाँदै गर्दा हिस्सी परेकी एक सञ्चालिकाले मलाई भनिन्, हमको सब पता है । बताओ, गुट्खा क्युँ खाया ?’ उनले उच्चारण गरेका शब्द मुखको ओढारबाट निस्किएका गनाउने चमेराजस्ता लागे मलाई । कहिल्यै गुट्खा नखाने म, उनको कुरामा सत्यता नभएको व्यक्त गरेँ । मनमा चोटको अनुभव गरेँ । त्यो चोटमा थप चोट थपियो जब फर्कने समयमा हिजो निर्देशन दिने वृद्धाले भनिन्, ‘कमरेमें सिग्रेड पिया था ना आपने ? या तो पिना बन्द करो, या आश्रम छोड्के चले जाओ ।’
('हरियो दिल्लीमा लेखकहरु'बाट)


तर देशलाई सपनाहीन बन्नबाट रोक्न हामीले केही न केही त उभ्याउनैपर्छ । यो देश कवि ईश्वरबल्लभकी आमाले आत्महत्या गरेको देश मात्र होइन, गोपालप्रसाद रिमालकी आमाले क्रान्तिकारी छोराको सपना देखेको देश पनि हो । सुन्दर सपना र अभियन्ताहरुको भेट नहोइन्जेल देश पुरानै दुनियाँमा बिरामी भेट्टिइरहनेछ ।
('कवि र सपना'बाट)


सोच हत्यारा हुन् ।
यिनले कि ज्यान मार्छन् कि अज्ञान मार्छन् । सोचहरु बाढीझैँ गडगडाउँदै आउँछन् भीडमा, एकान्तमा । बर्खाको नदीले बगाइल्याउने रूखका निरीह मुढाहरुझैँ यिनीहरुले मानिसलाई लछारपछार पार्छन् र फ्याँकिदिन्छन् कतै विचारको किनारामा । प्रत्येक पल हामी सोचका बाढीहरुमा हेलिइरहन्छौँ र किनारा खोज्ने प्रयत्न गरिरहन्छौँ । पौडिनु जान्नुपर्छ या बाढीमा डुङ्गा खियाउन सिक्नुपर्छ, हामी सोचका बाढीहरुबाट किनारा लाग्न सक्छौँ । जान्ने प्रयत्न गर्नु अज्ञानलाई मार्ने सर्वश्रेष्ठ विधि हो । म हत्यारा सोचलाई ज्यान हैन अज्ञान मार्ने कलाको रुपमा प्रयोग गर्न प्रयत्नशील रहन्छु । सोचहरुले अँध्यारो र अज्ञानताविरूद्ध बौद्धिक हतियार उठाएको तपाईंहरुलाई झैँ मलाई पनि मन पर्छ । जीवनका अनन्त गोरेटाहरुमा म एक हत्यारालाई मन–मस्तिष्कमा बोकेर हिँडिरहन्छु । सोच हत्यारा नै हुन् ।
('हत्यारा सोच'बाट)


म झुटोको विरूद्धमा छु, तपाईंहरुझैँ । तर कहिलेकाहीँ झुटो बोलेको छु । बाआमा, पत्नी, छोरा, साहित्यिक संगठन र क्याम्पस प्रशासनसँग दुई चारपटक हल्काफुल्का झुटहरु बोल्नुपरेको छ । कतिपय सच्चा पुजारीहरु भगवानसँग झुटो बोल्छन् । कतिपय नेताहरु देशसँग झुटो बोल्छन् । लेखकहरु आत्मकथामा समेत झुटो बोल्छन् । म झुटलाई घृणा गर्छु तर दुई चारपटक यस्ता घृणित कार्य गरेको छु । म झुटो नबोल्ने एउटै ठाउँ छ, डायरी ।
('साठी सालको डायरी'बाट)


यसो छाम्छु त कट्टु यथास्थानमा थिएन । त्यसले आफ्नो कर्तव्य पालन गर्न सकेनछ । भनिरहेझैँ लाग्यो, ‘म यी बलिया छालहरुसँग लड्न असमर्थ छु कविजी ।’ छालले खोल्साएर कट्टुलाई कुर्कच्चासम्मै पुर्‍याइदिएछ । हतारहतार त्यसलाई तान्दै कसैले मलाई नाङ्गै पो देख्यो कि भनेर तीनै दिशा नजर दौडाएँ“ ।
('साइकलको क्यारियरमा समुद्र'बाट)