विवरण

click this link Website
pandulipi

विचारका भग्नावशेष
प्रभाती किरण

मूल्यः US$ 2.45

 

१.

 

जिन्दगीको परिभाषा नपाएर रोयो मान्छे
आफैँलाई आँखाबाट बगाएर रोयो मान्छे ।

 

निद्रा थियो भोक थियो सचेतना पाखा हुँदा
पुस्तकका ठेलीहरू पल्टाएर रोयो मान्छे ।

 

अलिनो छ साँझ बिहान बुगुल्टै छन् आशाहरू
रित्तो पेट हाँस्थ्यो बरु अघाएर रोयो मान्छे ।

 

कालसँग पौँठेजोरी खेल्दै महाकाल भयो
आफ्नै प्रतिबिम्बसँग डराएर रोयो मान्छे ।

 

माटो उही, बाटो उही चिरस्थायी छैन कोही
गम्दागम्दै अनायासै टोलाएर रोयो मान्छे ।

 

२.

 

नसोचेको कति कुरा हुँदो रै’छ जिन्दगीमा
ओठ हाँसे पनि मन रुँदो रै’छ जिन्दगीमा ।

 

आँखैभरि सपना थे, चाहना थे अघि बढ्ने
तिर्सनाले त्यसै जून छुँदो रै’छ जिन्दगीमा ।

 

वसन्तको हरियाली खोजेँ दैव शिशिर दियौ
रहर मनका नियतिले धुँदो रै’छ जिन्दगीमा ।

 

सकिएन कठोर हुन मन बनाउन ढुङ्गासरि
रौकौँ भन्दा पनि आँसु चुहुँदो रै’छ जिन्दगीमा ।

 

सबको भागमा खुसी परे, दुःखी हुने को त यहाँ
त्यसैले पो हो कि स्वप्न तुहुँदो रै’छ जिन्दगीमा ।