विवरण

click this link Webseite
pandulipi

भोटखोला
प्रदीपमान तुलाचन

मूल्यः US$7.95


विवरण


आज डेभिड र ग्याल्मोको छोरो जन्मेको उपलक्ष्यमा धुमधाम पार्टी । दैवको पनि कस्तो संयोजन । कहाँको अमेरिकाको सम्पन्न परिवारमा जन्मी-हुर्की सुविधायुक्त महँगो बिद्धालय र विश्वबिद्धालयमा अध्ययन गरी वातावरणविज्ञ बन्न सफल डेभिड र कहाँ हिमाली केन्द्रको अति दुर्गम गाउँमा दुःख-पीडा र अभावका बीचमा बिद्धालयको अनुहारसमेत देख्न नपाई अनपढ बनेकी ग्याल्मोबीच अपत्यारिलो भेटघाट त्यसपछि विवाह र छोराको जन्म । अमेरिकाको भव्य हिल्टन होटल वासिङ्टन डिसी होटलबाहिर पार्किङ लटमा सयौँ महँगा गाडी । पार्टी हल महँगा र डिजाइनदार लुगाबाट सजिसजाउ गरेका जोडी-जोडी तथा अन्य महिला तथा पुरुष । हातमा वाइन मदिराका ग्लास लिँदै हँसिला सयौँ अनुहारहरु एक-आपसमा गफिँदै र रमिँदै ।


जन्मेको हप्ता दिनको बालकको कालो कपाल गोरो ठूलो अनुहार चिम्रे नीलो आँखा डल्लो नाक गोलो अनुहार ठूलो निधार सानो चिटिक्क परेको ओठ । हेर्दा अति खाइलाग्दो घप्लक्क परेको जीउ-ज्यान हेर्दैमा अति भाग्यमानी र शक्तिशाली बन्ला जस्तो । नीलो रङको बक्खु लगाएकी भित्रपट्टि माथिल्लो शरीरको भागमा कलेजी रङको सर्ट कमेज । तल खुट्टामा कलेजी रङको हिल कुर्कुच्चा अग्ला भएका जुत्ता लगाएकी लामो कालो र बाक्लो चम्किलो कपाल स्याउ जस्ता राता-राता गाला बाक्लो कालो आँखीभुइँ साना तर अति रसिला र मायालु हँसिला चम्किला लामा काला आँखा पातली भए पनि खँदिलो पुष्ट शरीरकी अग्ली ग्याल्मोलॆ आफ्नो छोरालाई दुई हातले आफ्नो छातीमा टँसाएर बोकेकी छे । छेउमा कालो थ्री पिस सुट गुलाफी रङको टाइ फिक्का प्याजी रङको सर्ट र काला टल्केका जुत्ता लगाएको मोटो-बाक्लो चस्मा लगाएको तालु खुइलिइएको पुड्का डेभिड ऊ ग्याल्मोसँग टाँसिएर उभिएको र बाक्लो मुस्कान दिँदै गेस्ट्हरुलाई पाहुनाहरुलाई स्वागत गरिरहेको… ।

 

त्यत्तिकै बेला सिनेटर ब्राइन सेतो सर्टमा र रातो टाईमा स्काई ब्लु आकाशे नीलो रङको महँगा सुटमा पोइन्टेट चुच्चो कालो जुत्ताको ट्याक-ट्याक आवाज निकाल्दै त्यहाँ ठक्क आइपुगे । पातलो-अग्लो सेतो कपाल चिटिक्क कोरेको उनको मुस्कानले ग्याल्मोको मुटुमा ढुकढुकी बढायो ।


'अहो यो कस्तो राम्रॊ चम्किलो बालक । तिम्रो छोरा अनि यी सुन्दरी तिम्री श्रीमती; डेभिडसँग हात मिलाउँदै सिनेटर ब्राइन आफ्नो आश्चर्य र खुसी व्यक्त गर्छन् । तर बूढाको भित्री मनमा ग्याल्मोको आकर्षक रुप र सुन्दरता देख्ता डेभिडप्रति डाह लाग्यो । 'यस्तो तालु खुइलिएको पुड्को मोटे-भुँडे बूढाले कसरी यस्ती सुन्दरीलाई फँसायो '
'हो सर ! धन्यवाद सर !' डेभिडले आफ्नो लाज लुकायो ।


'ल ! तिमी पनि अति भाग्यमानी नै रहेछौ यत्रो उमेरमा यस्ती सुन्दरी श्रीमती हेर्दाखेरि नै अति भाग्यशाली बन्ला जस्तो छोरो पाएकोमा !' ग्याल्मोलाई आँखा झिम्काउँदै ब्राइन त्यहाँ रमिँदै हलचल गर्दै र गफिँदै रहेकाहरुको हुलमा मिसियो ।


पाहुनाहरु सबैको हातमा पेयपदार्थ । सुमधुर डिस्को म्युजिक चलिरहेछ । सबै जना आ-आफ्नै तालमा गफ गरिरहेका कोही सङ्गीतको तालमा शरीर हल्लाइरहेका कोही जीउ मर्काउँदै गफ गर्दै गरेका त कोही गम्भीर मुद्रामा टुइँ-टुइँ पेयपदार्थ पिइरहेका । म्युजिक सङ्गीतको आवाज बढ्दै गयो । डिजेले सबैलाई डान्स् फ्लोर नाच्ने ठाउँ मा नाच्नलाई आमन्त्रित गर्यो । पेयपदार्थको हल्का नशामा धेरैजसो डान्स फ्लोरमा कोही कम्मर भाँच्तै कोही जीउ मर्काउँदै कोही हात माथि नचाउँदै कोही खुट्टा उचाल्दै नाच्न थाले । तीन गिलास रेड वाइन रातो मदिरा खाइसकेपछि सिनेटर ब्राइनलाई पनि हल्का नशा चढ्यो जोस चल्यो । आज त पक्कै यही सुन्दरी तरुणी ग्याल्मोसँग नाच्नुपर्ला !