विवरण

click this link Website
devkota

विश्व नारी रत्नः वानीरा गिरी
नरेन्द्रराज प्रसाईँ

मूल्यः US$2.95


सानैमा वानीरालार्इ उनकी फुफू पर्नेले पुरुषजाति प्रति सावधान पार्दै भनेकी थिइन्—‘पुरुषले स्त्रीलार्इ एउटा सुपारीको कुट्को पनि कुनै स्वार्थवेगर दिएको हुँदैन । त्यसैले तिमीले पुरुषसँग सधैँ होसियार बन्नू, सानी !’ यसै कारणले पनि उनले सधैँ पुरुषबारे आफूलाई चनाखो बनाएर सतर्क राखिरहिन् ।


वानीरा गिरी कोलकाता र खर्साङका कलेजमा पढेताका पनि वानीरालार्इ प्रेम दर्शाउन युवाहरूको खडेरो परेको थिएन । साथै कुनै युवाहरूले बराबर प्रेम पत्र पनि लेख्ने गर्थे । तर उनले हासँखेल र ठट्टा रमाइलोबाटै आफू समक्ष आएका प्रेमप्रस्तावलार्इ सर्लक्कै एकएक गरेर पन्छाउने गर्थिन् ।


यौवनावस्थाको माधुर्यले छोएकै बेला वानीरा गिरीले आफ्नी भाउजूमार्फत शङ्कर गिरीको फोटो दार्जिलिङमा नै देखेकी थिइन् । उनको दिल त्यसै बेलादेखि त्यही फोटोमा बसिसकेको थियो । शङ्कर गिरी भनेका उनकी भाउजूका नातेदार हुन् । त्यही कारणले पनि उनको किशोर मन शङ्कर गिरीप्रति आकर्षित भएको थियो ।


इन्दिरा गिरी एकपटक नेपाल आउँदा उनले त्यस बेला सोभियत रुसमा इन्जिनियर पढ्दै गरेका दाजु (आफ्नी फूपूको छोरो शङ्कर गिरीको फोटो लिएर खर्साङ गएकी थिइन् । त्यसैबेला वानीराले त्यो फोटो पहिलोचोटि देखेकी थिइन् । त्यो फोटो देख्नासाथै वानीराको मन, आँखा त्यसैमा टाँस्सिरह्यो । अनि उनले आफ्ना भावी महादेवको परिकल्पनामा आफूलाई भुलाउन थालिन् । तर त्यो फोटो देख्नुअघि उनले शङ्कर गिरीको नाउँसम्म पनि सुनेकी थिइनन् । वानीराले फोटो हेरेपछि आफ्नी भाउजू इन्दिरासँग फोटोवालाको सबै विवरण क्रमशः माग्न थालिन् । इन्दिराले पनि शङ्कर गिरीको बारेमा आफूले जानेबुझेअनुसार खुटैखुट भन्न थालिन् । अनि त झन् वानीराको दिनरातका पलहरू शङ्कर गिरीकै विषयमा केन्द्रित हुन थाले । उनी झन्झनै शङ्करप्रतिको एकोहोरो मायामोहमा डुब्न थालिन् ।


वानीरा गिरी काठमाडौँ प्रवेश भएपछि पनि उनको रूप, यावै न र विद्वताका कारण प्रेमी युवाहरूका प्रेमपत्रहरू र प्रेमप्रस्तावहरूले बाटो छेकिरहन्थ्यो । तर उनले आफ्नो खुट्टालाई बलियो पारेर टेक्न छोडेकी थिइनन् । वास्तवमा, उनको मस्तिष्क र हृदयमा एउटै व्यक्तिको मात्र झल्को आइरहन्थ्यो, एकै व्यक्ति मात्र दह्रो भएर उभिएका थिए; अनि ती व्यक्ति उनै शङ्कर गिरी थिए ।
वानीराले एम्.ए. पढेताका उनको भेट मीना आचार्यसँग भयो । त्यति बेला मीना पनि रुसमा नै पढ्थिन् । मीना र शङ्कर गिरीको रुसमा भेटघाट भइरहने सङ्केतको वानीराले केही छनक पाएकी थिइन् । त्यसैले उनले मीनालाई भेटेरै सोधेकी थिइन्— ‘शङ्कर गिरीको कसैसगँ प्रेमप्रङ्ग छ होला ?’ वानीराको प्रश्नमा आचार्यले जवाफ खन्याएकी थिइन्—‘शङ्कर गिरीको प्रेमप्रसङ्गको चर्चा त पहिलापहिला मैले प्रशस्तै सुनेकी हुँ । तर अहिले मैले त्यति सारो सुनेकी छैनँ ।’ अचार्यले बोलेका अन्तिम शब्द अर्थात् ‘तर अहिले मैले त्यति सारो प्रेम प्रसङ्गका कुरा सुनेकी छैनँ’ ले वानीरालार्इ त्यस बेला केही राहत दिने प्रयास गरेको थियो । त्यसपछि पनि वानीराले पुनः शङ्कर गिरी प्राप्तिका लागि नै अर्चना गरिरहिन् ।


शङ्कर गिरी इन्जिनियर पढ्न रुस गएका थिए । त्यस बेला राजा महेन्द्रको सद्भावनाबाट उनले रुस पढ्न जान पाएका थिए । रुसी सरकारबाट नेपाल सरकारलाई प्राप्त १५ वटा इन्जिनियरको सिटमा जाने गिरीको समूह प्रथम थियो ।वानीराले एम्ए पढेताका वानीरा गिरी र शङ्कर गिरीको भेट काठमाडौँमा भएको थियो । कुरा के भने, एकदिन वानीरा कलेज जाँदै थिइन् । त्यति बेला उनको कलेज त्रिपुरेश्वर जाने बाटो पुतलीसडक भएर थियो । उनी सडकमा हिँडिरहेका बेला उनका आँखा पुतलीसडकस्थित पशुपति गिरीको डेराको झ्यालमा ठोक्किन पुग्यो । त्यहाँ एउटा सुन्दर युवक झ्यालबाट टाउको बाहिर निकालेर दाँत माझ्दै थिए । ती युवकलाई देखेपछि वानीरालाई त्यतिबेला अलि अनौठोजस्तो लागेको थियो । त्यस दिनभरि नै पशुपति गिरीका झ्यालमा त्यसरी देखिएका नयाँ युवक को होलान् भन्ने प्रश्नले उनको मनलाई आन्दोलित पारिरह्यो । आफूले भाउजूबाट पाएको तस्बिरमा भएको व्यक्ति र उक्त झ्यालमा देखिएको व्यक्तिको समानताप्रति वानीरा सचेत भइन् । अनि उनले अड्कल काटिन्— ‘मैले झ्यालमा देखेको मान्छे पक्कै त्यही फोटोवाला शङ्कर गिरी नै हुनुपर्छ ।’ अनि यसै क्रममा शङ्कर गिरीले पनि एउटी नेपाली बौद्धिक सुन्दरीसँग पहिलोपल्ट गहिरिएर दृष्टिपान गरेका थिए ।


वानीरा कलेजमा पुगे पनि त्यस दिन उनको मन चञ्चल भइरह्यो । ती पलहरूमा उनको हृदय शङ्कर गिरीकै शारीरिक बनोटमा केन्द्रित भइरहेको थियो ।